Posts

रेडिएशनको भट्टीभित्र: प्रविधि, प्रदूषण र मानसिक स्वास्थ्यको संकट

हाम्रो रहनसहन र एक्लिँदै गरेको जीवनले गर्दा प्रत्येक पाँचजना मध्ये एकमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ ! अझ शहरी जनसङ्ख्यामा त यो भयावह नै छ ! कलिलै र कच्चै उमेरमा सोसल मिडियादेखि इन्टरनेटसम्मको अनियन्त्रित पहुँच, अत्यधिक प्रयोग र दुर्व्यसनले गर्दा हुर्किँदै गरेको नयाँ पुस्ता र हाम्रो परम्परित समाजशास्त्रबीच गहिरो खाड़ल बन्दै छ । स्वास्थ्यमात्रै होइन, स्वभाव, व्यक्तित्व र पारिवारिक माधुर्यमैँ कालो बादल छ !

आकाशदेखि समुद्र र जमीनदेखि जमीनमुनिसम्म विद्युतीय र रेडियो उपकरणहरूको व्यापक सञ्जाल छ । घरभरि 'वायरलेस' उपकरणहरू छन् । सुत्ने कोठामैं तीन चारवटा चार्जर, टीभी, प्लग, टेबल-ल्याम्प, मोबाइल, घड़ीजस्ता उपकरण त छन् नै, मोडर्न बन्दै जाँदा बस्ने सोफा र सुत्ने बेड पनि रिमोट कन्ट्रोल वाला छन् । आजको पुस्ता वायरलेस हेडफोन टाउकोमा नराखी कतै हिँड्दैन । एक मिनेटमैं के नयाँ परिवर्तन हुन्छ र ? तैपनि हरेक मिनेट निरर्थक मोबाइल कोट्याउने हाम्रो संस्कार नै छ । अझ पाहुना बनेर जानेले पनि एक मिनेट नमस्ते गर्न नपाउँदै वाईफाईको पासवर्ड सोध्ने र अनि मोबाइल कोट्याउँदै आडमा बस्नेसँग कुरो गर्ने चलन छ । बोलेको आधा सुनिन्छ, आधाको आधा मात्रै बुझिन्छ । घरमा पाहुना आउँदा छोराछोरी कोठा र कम्प्युटरबाट ननिस्किने रोग छ । तिनले बन्द कोठामा के पढ्छन्, के हेर्छन् र कोकोसँग संवाद गर्छन् भन्ने अधिकांश अभिभावकलाई थाहा हुँदैन ।

हाम्रो खानपान र प्रदूषणले गर्दा कलिलो बच्चादेखि नै एक्सरे, सिटीस्क्यानजस्ता घातक परीक्षण गर्न पर्ने अवस्था छ । यस्तो लाग्छ, हामी रेडिएशनको भट्टीभित्र हुर्किरहेका छौँ ! हाम्रो मानसिक स्वास्थ्य अस्वस्थ नै नभए पनि पूर्ण स्वस्थ छैन !

जति नै 'हेल्थी' भने पनि हाम्रो खाना नै स्वस्थ छैन । कि तेल प्रदूषित छ कि तरकारी विषाक्त र हाइब्रिड छ । खाना पकाउने प्यानदेखि माइक्रोवेभसम्म पनि समस्या छ । अझ प्याकेट या बट्टाको खाना त हाम्रो नियमित 'डाइट' मैं मिसिएको छ । इन्ग्रेडियेन्टस् हेर्नुभो भने एउटा जूसको बट्टामा दर्जन थरी नाम नै नसुनेका केमिकल हुन्छन्, जुन हाम्रो शरीरमा दिनहुँ पसिरहेछन् । खाना खाने घड़ी पनि 'बड़ी क्लक'सँग मिल्दो जुल्दो छैन । चौबीसै घण्टा हाम्रो खाने समय हो ! आज खेत नै छैन, बेचेर खाइयो । शारीरिक परिश्रम पनि हुने कुरो भएन । जे छ 'मेन्टल' छ ! खाली पैतालाले जमीन नटेकेको धेरै भयो । तर खाना दोब्बर छ, अझ त्यो 'कार्बोहाइड्रेड' मात्रै छ ।

खानपान, रहनसहन र विद्युतीयदेखि वायुसम्मको प्रदूषणले गर्दा  हरेक दुई जनामध्ये एकमा क्यान्सर देखिन सक्ने तथ्याङ्कहरूले देखाएका छन् । यो निकै भयावह परिस्थिति हो । जन्मिदै गरेका सयमा तीन जना बच्चामा 'अटिज्म'को समस्या छ । हिजो चश्मा पसल नदेखी मान्छे हुर्किन्थ्यो, आज यसो आँखा घुमाउनुस्, बच्चाको आँखामा ठूलो चश्मा भेट्नुहुन्छ ।  आफ्नै घर हेर्नुभयो भने प्रेसर, डायबिटीज या थाइरोइडको औषधि नखाने मान्छे भेट्न मुश्किल छ । आज युवावस्थामैं हृदयाघातले मान्छे मर्ने घटना एकदम सामान्य जस्तै छ । हिजो मान्छे बिरामी भएर हस्पिटल जाँदा गाउँका छरछिमेक पनि बस चढेर पुग्थे । आज कुर्ने मान्छे छैन । हामी कसैकोमा जान भ्याउँदैनौं ।

शारिरिक श्रमको युगमा हातखुट्टा भाँचिन्थ्यो, यो मेन्टल युगमा मस्तिष्क भाँचिन्छ, मन भाँचिन्छ ।

पढाउने नाममा बालबच्चालाई केही पनि गर्न नदिने, गुड़ियाजस्तै हुर्काउने, अलिकति पनि श्रम, सङ्घर्ष र कठिनाइ नसिकाउने अनि स्कुल सक्नेबित्तिकै घरबाट टाढा विदेश पठाउने चलन बढ्दो छ । न ती सामाजिक प्राणीका रूपमा हुर्किन्छन् न सङ्घर्षसँग इम्युनिटी लिएर हुर्किन्छन् । जे चाह्यो र माग्यो त्यो पुग्ने गरी हुर्किएको पुस्तासँग सानो कठिनाइमा पनि आत्तिने र अवाञ्छित निर्णय लिन सक्ने सम्भावना हुर्किरहन्छ । तपाईंले बच्चाले मागेको कुरो किन्दिएको त याद छ तर उससित घरबाहिर निस्केर एकछिन कहिले खेल्नुभएको थियो भन्ने याद छ ?

आफै असुरक्षित भइने यो रेडिएशनको भट्टीभित्र रहेर, प्रदूषित श्वास र दूषित आहार लिएर, प्रविधि र सोसल मिडियाको अनन्त पासोमा बेरिएर बालबच्चालाई स्वस्थ रूपमा हुर्काउन सजिलो छैन । तिनको मानसिक स्वास्थ्यबारे त हामीले ध्यानसम्म दिन पाएका हुँदैनौँ ! यो विश्वव्यापी समस्या र रोगको औषधि हामीसँग मात्रै हुने कुरो भएन ।

तर केही सानोसानो कुराचाहिँ आफै गर्न सकिन्छ कि ? कलिला स्कुले बच्चालाई बोर्डस गरेर पढाउनुभन्दा ठिक्कको विद्यालयमा आफैसँग राखेर, आफ्ना साथी र सम्बन्ध चिनाएर पढाउनु स्वस्थकर हुनसक्छ । आफै पनि आफ्ना सम्बन्ध र परिवारमा बिताउने समय बढाउन र एकछिन भए पनि सँगै हाँस्ने वातावरण बनाउन सकिन्छ । स्नातकसम्म देशमैं पढाउने र अलि मानसिक रूपमा सबल भएपछि मात्रै विदेश पढ्न पठाउनु अर्को उपाय हुन सक्छ । खानपिन, व्यायाम र कामबीच समन्वय खोज्न सकिन्छ । मन र मस्तिष्क पनि बिरामी हुन्छ र त्यसको उपचार हुन सक्छ भन्ने बुझ्न र बुझाउन सकिन्छ । अनावश्यक र प्रयोगविहीन बिद्युतीय उपकरण घरबाट हटाउन मिल्छ । सकेसम्म प्राकृतिक जीवन जिउने अभ्यास गर्न सकिन्छ । पाँच मिनेट मात्रै पनि हरेक दिन माटो छोएर उभिने हो भने पाँच सय लाभ हुन सक्ने रहेछन् । आफै स्वस्थ नबनी त अरूलाई के बनाउन सकिन्छ र !

अँ, यति लामो गन्थन पढ़ेपछि पाँच मिनेट मोबाइल बन्द गरेर आफ्नै वरपर आँखा घुमाउन पनि सकिन्छ ! मोबाइलमैं बस्ने हो भने पनि बाँकी कुरा तपाईंले थप्न पनि सकिन्छ ! 

Post a Comment