नेपालीहरूले यमराजलाई नै छक्क पारे


आज नर्कमा अचम्मको माहोल छ। अन्य दिनहरूमा यहाँ आउने आत्माहरू डरले काँप्छन्, विलाप गर्छन्, अनि आफ्नो पापको सजाय भोग्न कराउँछन्। तर आज भने दृश्य उल्टो छ।

यमराज आफैं छक्क परे। "के नर्क परिवर्तन भयो कि के हो? यहाँ आउने मान्छेहरू रोइरहेका हुँदाथिए, तर आजका त हाँसिरहेका छन्!"

नर्कका गल्लीहरूमा असह्य दुर्गन्ध छ, भयानक आगो बलिरहेका छन्, उम्लिरहेको तेलको तलाउ तयार छ, अनि शैतानहरू कडिकडाउ गरिरहेका छन्। तर ती मानिसहरू भने खित्का छोडेर हाँस्दै छन्।

"यी त नेपाली पो रहेछन्!" यमराज कराए।

उनले आफ्ना दूतहरूलाई बोलाए।

"हे दूतहरू! तिमीहरूले गल्ती गर्‍यौ कि के हो? यी मानिसहरू त हाम्रो सजायलाई रमाइलो मानेर हाँसिरहेका छन्! कतै तिमीहरूले स्वर्ग जानुपर्ने आत्माहरू त ल्याएनौ?"

यमदूतहरू अक्क न बक्क भए। "हे प्रभु, यी सबै नेपाल भन्ने देशबाट आएका हुन्।"

यमराज झन् छक्क परे। "नेपाल? त्यो त सुन्दर देश हो! हिमाल, हरियाली, प्राकृतिक स्रोतसाधनले भरिपूर्ण! अनि यिनीहरू किन नर्कमा?"

यमदूतहरूले टाउको हल्लाए। "हे प्रभु, कुरा सुन्नुस्। नेपाल सुन्दर भए पनि, त्यहाँका मानिसहरूलाई हेर्नुस् त। उनीहरू स्वर्ग जस्तो देशलाई नर्क बनाएर बसेका छन्। भ्रष्टाचार, नेताहरूको लुटतन्त्र, अनि आफैं असजग नागरिक! यस्तै प्रवृत्तिले गर्दा आज यी सबै यहाँ आइपुगेका हुन्।"

यमराज अझै अन्योलमा परे। "तर यी त साह्रै मेहनती लाग्छन्! आखिर कस्तो जीवन बाँचे त?"

यमदूतले विस्तारमा बताए:


"हे महाराज, जब यी मानिसहरू जवान थिए, तब आफ्नो देशमा काम थिएन। रोजगार खोज्न अरब, मलेसिया, कोरिया, कतार, जापान गए। त्यहाँ बिहानदेखि बेलुकीसम्म कडा मिहिनेत गरे। ५० डिग्री तापक्रममा पसिना बगाइरहे, मालिकको गाली सहे, अनि महिनौसम्म घर परिवारसँग नबोली बस्नुपर्‍यो।"

यमराज छक्क परे। "त्यसैले तिनीहरूलाई नर्क सहज लागिरहेको हो?"

"हो महाराज।" यमदूतले थपे। "वैदेशिक भूमिमा यीनीहरूले अकल्पनीय कष्ट सहेर पनि पैसा कमाए। तर नेपाल फर्किएपछि? यहाँका भ्रष्ट नेताहरूले तिनकै रेमिट्यान्सले देश चलाए, तर नागरिकलाई सुविधा दिएनन्।"

"फेरि तिनीहरू नेपाल फर्केपछि के गरे त?"

"बस, तिनले अब सिन्को नभाँच्ने निर्णय गरे। काठमाडौका चिया पसलहरूमा बसेर 'देशले केही गरेन' भन्दै सरकार गाली गर्न थाले। तर आफूले कहिल्यै केही गरेनन्।"

"त्यसो भए देश बर्बाद हुने निश्चितै रहेछ!"

"अझ रमाइलो कुरा सुन्नुस्, महाराज!" यमदूत हाँसे। "यी मानिसहरू जब विदेशमा थिए, तब ती देशलाई स्वर्ग बनाउन खटे। मरुभूमिमा हरियाली ल्याए, तातो घाममा पसिना बगाएर तिनकै देशको भौतिक संरचना बनाए। तर आफ्नै देश फर्किएर केही गरेनन्। बरु झन् सरकारलाई दोष दिए, नेताहरूसँग चियोचर्चा गरे, अनि आफूले केही गर्नुपर्ने आवश्यकता नै देखेनन्।"

यमराज रिसले थर्कमान भए। "यी मानिसहरूले आफ्नो देश आफैं बिगारेका रहेछन्! अनि नेताहरू?"

यमदूतले विस्तारमा बताए:


"हे महाराज, नेपालमा जनताले जसलाई ‘महान् नेता’ भनेर भोट दिए, तिनै नेताहरूले देशलाई डुबाए। अरबौंको ठेक्का खाए, देशको ढुकुटी सिध्याए, अनि चुनाव आउँदा फेरि पाँच किलो चामल बाँडेर मतदाता किनेर जिते।"

"जनताले विरोध गरेनन्?" यमराज छक्क परे।

"कसरी गर्ने महाराज? जब कोही राम्रो मान्छे राजनीति गर्न खोज्छ, ऊ भ्रष्टहरूको जालमा फस्छ। जनताले उसलाई नै शंका गर्छन्। 'सबै उस्तै हुन्' भनेर आफ्नै भ्रष्ट नेताहरूलाई समर्थन गर्छन्।"

"त्यसो भए देश त नेताहरूको स्वार्थी खेल मैदान बन्यो!"

यमदूतले टाउको हल्लाए। "हो महाराज! भ्रष्ट नेताहरू विदेशी मुलुकमा आफ्ना छोराछोरीलाई पढाउँछन्, अरबौंको सम्पत्ति जम्मा गर्छन्, अनि गरिब जनताले चाहिँ चिसोभात खानुपर्छ।"

"अनि जनताले के गर्छन्?"

"गज्जब छ महाराज! नेताहरूले चामल बाँडेपछि तिनका कार्यकर्ताहरू भेडा जस्तै पछि लाग्छन्। गाली गर्छन्, सडकमा हुलहुज्जत गर्छन्, अनि चुनाव सकिएपछि ती नेताले हराए जस्तो गर्छन्।"

यमराज अब झनै रिसाए। "अब यी नेपालीलाई उम्लिरहेको तेलमा हालेर पोल!"

तर नेपालीहरू खुशी भए। "वाह! तातोपानीमा नुहाउने मौका मिल्यो!"

यमराज झसंग भए। "के? यीनीहरूलाई तेलमा हाल्दा पनि मज्जा लाग्छ?"

यमदूतहरू हाँसे। "हो महाराज, नेपालमा जाडो महिनामा तातोपानी पाइँदैन। यहाँ आएर तिनले तातोपानीमा नुहाउने सपना पूरा गर्न पाउँछन्।"

यमराज चिच्याए। "अब तिनीहरूलाई घुस नलिने, इमान्दार सरकार भएको ठाउँमा पठा!"

त्यसपछि मात्रै नेपालीहरू कराउन थाले।

"हे यमराज! यो सजाय धेरै गाह्रो भयो! घुस नलिने सरकार? यस्तो ठाउँमा त बाँच्नै गाह्रो हुन्छ!"

यमराज मुस्कुराए। "अब थाहा पाइयो, नेपालका लागि असली नर्क के हो ईमानदार देशमै तिमीहरूको असली सजाय हुनेछ!"

Disclaimer: This story is a work of satire and fiction, created purely for humor and social commentary. It is not intended to offend any individuals, cultures, or religious beliefs. The characters and events depicted are fictional, and any resemblance to real persons, living or dead, is purely coincidental. Readers are encouraged to enjoy the story in the spirit of lighthearted humor and critical reflection.

إرسال تعليق