भोलिडिमिर जेलेन्स्कीको नेपाली नेताहरुलाई पत्र!

प्रिय नेपाल देशका विभिन्न च्याउसरी राजनीतिक दलका छिचिमिरासरी नेतागण!

आज सात समुद्रपारीबाट तपाईँहरुलाई म यो पत्र लेख्दैछु । तपाईँहरुलाई थाहा नै छ,मलाई ओभल अफिसमा बोलाएर,अमेरिकी सन्चार माध्यमका अघि जे गरियो र गर्न खोजियो- यो भारी सभामा द्रौपदीको चीर हरणको प्रयासभन्दा कम थिएन । म अहिले पनि बाध्यतावस अमेरिकामै छु,भान्स र ट्रम्पले मलाई लुगा लगाएको नाङ्गो बनाउन खोजिरहे,म आफ्नो पतलुङ्ग स्याहार्न ब्यस्त छु,अब आफ्नो देश जाँदैछु । सबभन्दा पहिला म सात समुद्रपारीबाट यो पत्र तपाईँहरुलाई किन लेखिरहेछु भनेर अचम्म मान्नुहोला। अचम्म मान्नुपर्दैन- यति बुझ्ने  स्वाभिमानी तपाईँहरु भएको भए यो पत्र लेख्नै पर्दैनथ्यो । बरु मलाई त लागिरहेको छ,मेरो ओभल रुममा चीरहरण हुँदा तपाईँहरु मज्जा मानिरहनुभएको थियो र सोचिरहनुभएको थियो- यस्तो अपमान त कति पो सहियो तर कसैले देखेन । यतिमात्र कहाँ हो र ? तपाईंहरु त मलाई मूर्ख ठानिरहनुभएको होला,जसले त्यत्रो दियो उसैका दुई बढे नेताको सामु टिसर्ट पाइन्ट लगाएर जवाफ फर्काउने ? हामी जसरी जी सर,हस हजुर,हुन्छ साप भनेको भए र लालु यादवको टाङ्ग मुनि बसेर दण्डवत् गरेको भए यति बेइज्जत त सहनुपर्दैन थ्यो  भन्ने लागेको होला।

हो , मजस्ता मुर्खका पटमुर्ख मित्रहरु,मलाई आज पस्चाताप छ,यिनीहरुले हिजो सद्दामलाई उचाले,मुसारे,अनि सेदारे- मैले सोचिनँ। यिनीहरुले हिजो ओसामालाई जन्माए,हुर्काए र हिर्काए- मैले चेतिनँ । यिनीहरुले म कमेडियनलाई उचालेर अभिनय गराए। अभिनयमा चरम राष्ट्रवाद सिकाए,रुससङ्ग हतियार चलाउन लगाए,नेटोको नाममा अजङ्गको छिमेकीलाई लल्कार्न भने । तिम्रो देशमा राजेश हमालले "हे" भनेको जसरी कराउन र जनता मार्न ३५० मिलियन डलर दिए । म त अभिनयमा रमाइरहेको मानिस - सारा निर्देशकले भने जसरी गरिरहेँ। जनता मर्दा पनि चलचित्रमा जस्तो पछि बाँचिहाल्छन् नि जस्तो लाग्यो।देश जल्दा पनि फिल्म सकिएपछि पहिलेकै रुपमा आइहाल्छ नि जस्तो लाग्यो। देश टाट पल्टिँदा पनि चलचित्रको समाप्तिपछि सबै ठीक भैहाल्छ जस्तो लाग्यो। तर पुटिन र मेरा निर्देशकले जब वास्तवमा वार्ता गरे मलाई शंका लाग्यो- कतै यो चलचित्रको रिल होइन,रियल पो हो कि? 
         
नेपाल देशका देशलाई माया मान्न हैन माया मार्न पल्केका मित्रजन!
आफ्नो मुलुकको हीत भन्दा अर्काले मुसार्दा मज्जा आयो भने कस्तो भइन्छ भन्ने मलाई देख्नुभो हैन?तपाईंहरुलाई त यो नौलो पनि होइन। तपाईंहरुको त देशको प्यारो हुने भन्दा उत्तर,दक्षीण या पस्चिमाको प्यारो र प्यादा हुने प्रतिस्पर्धा चल्छ क्यारे । देशको बिकासभन्दा बिनास गरेर भएपनि आफ्नो पद सुरक्षित गर्न पाए पुग्छ क्यारे । तपाईँहरुको बालुवाटार र सितल निवास भन्ने छ नि हो त्यहाँ त अर्को देशको राजदुत र गुतचर प्रमुखले बेलाकुबेला मध्यरातैमा पनि पाठ पढाउँछ क्यारे ।

मेरा हुस्सु मित्रहरु!
आज मलाई झलझली याद आइरहेछ,पस्चिमा मिडियाले मेरो देशमा मान्छे मर्दा रुस युक्रेन युद्धमा  रुसी सेनाको हताहती भने- मैले बुझिनँ। मेरो देशको भुभागमा रुसी सेनाले मार्च गर्दा युक्रेनले रुसको भुभाग कब्जा गर्दै भन्दा मैले सोचिनँ। रुसी सेनाले मेरो शहरमा आगो लगाउँदा उनीहरुले जेलेन्स्कीको सामु झुक्दै पुटीन भने मैले चेतिनँ र त आज मलाई ओभल अफिसबाट बलात् निकाल्दा पनि मेरो आँसु लुकाउने ठाउँ छैन ।

हुन त तपाईंहरुलाई त झुक्ने बानी नै छ। लैनचौरमा भोज लाग्दा लाइनमा लागेर केराको पातमा खान पाउँदा हात चाट्नुहुन्छ। महाराजगन्जले डलर फाल्दा टोपी थाप्नुहुन्छ अनि उत्तरतिरबाट चिसो आउँदा घर पोलेर आगो ताप्नुहुन्छ। मलाई यति गर्व लाग्छ,सन्सारमा मजस्तै मुर्खको झुण्ड खोज्न नेपाल गए हुन्छ।

यो मध्यरातमा बत्ती निभाएर मोबाइलको उज्यालोमा शौचालयमा लुकेर यो पत्र लेख्दैछु,उज्यालोमा मुख देखाउन त लाज पो लागिरहेछ। युद्ध थाल्न उचाल्नेका ललिपपको स्वाद अहिले तीतो लागिरहेको छ। हतियार दिनेहरुले साइनाइड दिएजस्तो र धाप मार्नेहरुले कोर्रा हानेजस्तो भैरहेको छ। हुन त मेरा लागि यो नौलो,तपाईहरुका लागि त दूध र भात होला। सम्बिधानको धारा धाराको प्राबधान त तपाईँहरु ख्वामितलाई कुनामा लुकेर अनुमति लिनुहुन्थ्यो रे। छोराछोरीको छात्रवृत्ति र श्रीमतिको सपिङ्ग खर्च पनि उतै माग्नुहुन्थ्यो रे । तर मित्रहरु!आज मलाई अनुभुत भैरहेको छ अर्काको बुई चढ्दा कतिबेला उसले सुइरोले घोप्छ।

तपाईंको जस्तो सुन्दर देशमा अब अर्काले सरकार बनाउने र गिराउने गर्न नदिनुस् ।उसको हतियार नकिनेका कारण ब्यबस्था नै परिवर्तन हुने अवस्थाको अन्त गर्नुस् । तपाईंको सम्बिधान तपाईँले नै लेख्दा रिसाउने छिमेकीले तपाईँको भलो गर्दैन बुझ्नुस् । तपाईहरु एउटा कथा सम्झिनुस् " दुई दाजुभाई एक दिन खोलामा खेल्न गएका थिए। दाजुले भाईलाई कुल्चियो ।भाइ दौडँदै बालुवामा गयो र लेख्यो,आज दाइले मलाई खुट्टामा कुल्चियो मलाई दुख्यो । अनि अर्को दिन पौडी खेल्दा भाईलाई खोलामा डुब्दै गरेको देखेर दाईले हत्तपत्त बचायो। फेरि भाइ दौडदै ढुङ्गामा गयो र लेख्यो आज दाईले मलाई बचाउनुभयो । " हो दाजुभाईको बिचको बैमनस्यता बालुवाको अक्षर जसरी हावामा उडाऔँ  अनि प्रेम र सद्भाव ढुङ्गाको अक्षर जसरी अमर बनाउनुस् । तपाईको देश तपाईले नै बनाउने रहेछ। तपाईहरुलाई आज फुटाएर शत्रुले तपाईंहरुको विनासमात्र गर्ने रहेछन् । हेर्नुस् त मेरा जनताले म र मेरो हर्कतलाई माफी गर्लान् त ?अनि तपाईहरुको बुद्धि हुन त घुच्चुकमा छ,तै पनि सोझा नेपाली जनताको हीतमा फर्कन्छ कि भन्ने झिनो आशामा यो पत्र लेखेको छु। भुलचुक लिनेदिने ।

उही तपाईहरु जस्तै बुद्धि भएको,
भोलोदिमिर जेलेन्स्की
हाल: अम्रिका

यो पत्र जसजसले राजनीतिका नाममा पेसा,व्यापार र ब्याबसाय गरिरहनुभएको छ,उहाँ नेताहरुलाई मात्र हो। अन्यले अन्यथा नलिनुहोला ।

إرسال تعليق