देश र राजनीतिलाई लिएर हामीले दिनदिनै पोख्ने निराशा, कुण्ठा या गालीगलौजको किञ्चित् अंश छ कि भनेको, त्यो पनि भेटिएन ।
यो व्यवस्था नफेरी, आफैलाई राजा नबनाई देश बन्दैन भन्ने अभिव्यक्ति छ कि भन्ने लागेर फेरि सुनियो, त्यो पनि भेटिएन ।
आफूले बनाएको र अरूले भत्काएको भन्ने पेटबोली पनि त्यहाँ छैन ।
भिडियोमा अलिकति जुम्लाको स्वाद छ, सौन्दर्य छ, इतिहास छ, स्थानीय जीवनको स्पर्श छ, पञ्चकलीले गुनगुनाएको माटोको मधुर भाका छ र हेर्ने विश्वभरका दर्शकलाई एकपल्ट घुम्नै पर्ने आग्रह छ । संयोगवश दरबारमा हुर्किएको एउटा नवयुवकले भुइँसँग र भुइँमान्छेसँग बिताएका केही क्षणको चित्र छ । त्यो स्वादिलो छ । दर्शनीय छ ।
हिजोसम्म पार्टी खोलेर मैदानमा आउन या फिलिम खेल्न सुझाव दिँदै थियौँ ! आज आफ्नै देशको भूगोल घुमेर बनाएको एउटा भिडियोमा गाली गर्न तल्लीन छौँ !
उनले आफ्नै देशमा, त्यो पनि दुर्गम र विकासको मूलधारसँग जोडिन नसकेको धर्तीमा पुगेर एउटा भ्लग न बनाएका हुन् ! कुर्सी नै खोस्न आएजस्तो छटपटी र गाली नै गर्न के आवश्यक छ र ?
राजपरिवारमा जन्मिनु उनको गल्ती हो र ? पूर्वराजपरिवारको एक सदस्य भएको र अरूले कुनै बेलाबेबी किंगको हल्ला चलाएकाले पनि होला, युवामाझ उनी अत्यधिक लोकप्रिय छन् भन्ने सुनिन्छ । त्यो लोकप्रियताले जुम्ला चिनाउँछ, हुम्ला या डोल्पाको सौन्दर्य बाहिर ल्याउँछ र दर्शकलाई त्यहाँ पुग्न प्रेरित गर्छ भने त्यो प्रसंशनीय हो ।
लोकतन्त्रमा नेताका छोराछोरी सांसद, मेयर, मन्त्री बनेकै छन् । भाइ, साला, साली, बुहारी या भतीजाहरूको पनि भाग्य अन्यभन्दा बलियै देखिन्छ । सबै सुविधा त्यागेको भनिएको पूर्वराष्ट्रपतिले त दायाँबायाँ सेना र पुलिस लिएर पार्टी कार्यालय जान मिल्छ भने एउटा पूर्वराजपरिवार सदस्य गाउँ पुगेर स्थानीयसँग भिडियो बनाउन नमिल्ने भन्ने भएन ।
बच्चै त छन् । उनलाई देश बुझ्ने रहर पनि होला । नभए पनि गाउँ र माटोसँग यसरी जोड़िँदै जाँदा रहर पलाउन सक्छ । हामी देख्नेलाई त इत्ती पलायो ।
एकदम असहिष्णु र गाली गर्ने व्यवस्थालाई गणतन्त्र भनिन्न । गाली गर्नेको अभीष्ट व्यवस्थालाई असहिष्णु देखाउनु र गलाउनु पनि हुनसक्छ !